इन्द्रजात्रा काठमाडौं उपत्यकामा धूमधाम रूपमा मनाइँदै
आज वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्दै परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा विशेष गरी मनाइन्छ।
इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा धार्मिक विधिअनुसार इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुन्छ। यो जात्रा विभिन्न नाचगान, रथयात्रा, र देवीदेवताहरूको पूजाआजा गरेर आठ दिनसम्म मनाइन्छ। लिङ्गो ठड्याउने कार्यलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ, जसको फेदमा भैरवको पूजा गरिन्छ। इन्द्रजात्रालाई सत्रु पराजयपछि विजय मनाउने पर्वका रूपमा लिइन्छ, र इन्द्रध्वजको पूजा शक्तिको प्रतीकका रूपमा गरिन्छ।
यस पर्वअन्तर्गत भक्तपुरको चितपोल जङ्गलमा तान्त्रिक विधिद्वारा पूजा गरी बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटेर लिङ्गो तयार गरिन्छ। लिङ्गो उपत्यकामा ल्याएर एक रात भोटाहिटीमा राखिन्छ, अनि एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजको लिङ्गो तयार पारिन्छ।
आज इन्द्रजात्राका प्रमुख कार्यक्रमहरूमा राष्ट्रपतिबाट हनुमानढोका स्थित गद्दी बैठकमा श्री गणेश, श्री भैरव, र श्री कुमारीको रथयात्रा हेर्ने परम्परा रहेको छ। राजतन्त्र रहँदा यो परम्परा राजाबाट निभाइने गर्थ्यो।
जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार, र पुलुकिसी नाच (जो ऐरावत हात्तीको प्रतीक हो) गरिन्छ। इन्द्रध्वजको लिङ्गो ठड्याएको आठौँ दिन आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन गरिन्छ, जसलाई ‘भरणी नक्षत्रको रातमा लडाउनुपर्ने’ धार्मिक विधानमा उल्लेख गरिएको छ।
यस अवसरमा आज उपत्यकाको पश्चिमी क्षेत्र दहचोक स्थित इन्द्रदहमा रातभर जाग्राम बस्ने र भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरी मेला भर्नेको ठूलो भीड लाग्ने गर्दछ।
अनन्त चतुर्दशी
भाद्र शुक्ल चतुर्दशीका दिन भगवान विष्णुको पूजा गरी अनन्त चतुर्दशी पनि मनाइन्छ। यो दिन चोखो धागोमा अनन्त मन्त्र बाँध्नाले वर्षभरि शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ। आज जनै (यज्ञोपवीत) फेरिन नसकेकाहरूले पनि मन्त्रने शास्त्रीय विधान रहेको धर्म शास्त्रविद्हरू बताउँछन्।
तपाईको प्रतिक्रिया दिनुहोस