Techie IT
२०८१ चैत्र २०, बुधबार

महाशिवरात्रिमा पशुपति आउने भक्तजनका लागि व्यापक सुविधा: संस्कृति मन्त्री पाण्डे


File Photo

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आउँदो महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि अधिकतम सुविधा उपलब्ध गराइने बताएका छन् ।

आज बिहान पशुपति क्षेत्रको अवलोकन गर्दै सञ्चारकर्मीसँग कुरा गर्दा मन्त्री पाण्डेले विश्वभरिबाट आउने भक्तजनलाई सहज बनाउने उद्देश्यले तयारी तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । "अहिले पनि खानेपानी पाइप विच्छ्याउनेलगायतका काम भइरहेका छन्। महाशिवरात्रिमा कुनै असहजता नहोस् भन्ने उद्देश्यले सरोकारवाला निकायसँग समन्वय भइरहेको छ," उनले बताए ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले तयारीमा सरकारी निकायसँगै सामाजिक सङ्घसंस्था र व्यक्तिको समेत सहयोग अपरिहार्य रहेको उल्लेख गरे । उनले वनकाली, भुवनेश्वरी, घाट क्षेत्र, राममन्दिर, मृगस्थली र विश्वरुपलगायत स्थानको अवलोकन गरेका थिए ।

महाशिवरात्रिभन्दा अघि सम्पूर्ण काम सक्न निर्देशन

अझै केही काम बाँकी रहेकाले ती काम चाँडो सम्पन्न गर्न मन्त्री पाण्डेले कोषका कर्मचारीलाई निर्देशन दिएका छन् । अवलोकनको क्रममा कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी लगायतका पदाधिकारीले तयारीको प्रगतिको जानकारी गराएका थिए ।

२०१ सदस्यीय मूल समारोह समिति गठन

महाशिवरात्रिको तयारीका लागि मन्त्री पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिअन्तर्गत नौ वटा विषयगत उपसमितिहरू बनाई तयारीलाई तीव्रता दिइएको कोषका सदस्य सचिव थापाले जानकारी दिए ।

साधुसन्तको आगमन सुरु, आवास र भोजनको व्यवस्था

महाशिवरात्रिका लागि साधुसन्तको आगमन सुरु भइसकेको छ। स्वर्गद्वारी आश्रमलगायतका संस्थाले साधुसन्तका लागि आवास, भोजन र धुनी ताप्ने व्यवस्था गरेका छन् । भारतको प्रयागमा भइरहेको महाकुम्भबाट धेरै भक्तजन पशुपतिनाथ आउँने अनुमान गरिएको छ ।

पशुपतिनाथ मन्दिरमा आउने भक्तजनका लागि कोष, गुठी संस्थान र विभिन्न आश्रमले आवास र भोजनको व्यवस्था मिलाएका छन्। परम्पराअनुसार महाशिवरात्रिपछि साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिने छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट