कमलदह मेलामा कुस्तीको बढ्दो आकर्षण, हजारौं दर्शकको भीड
सिरहाको मिर्चैया नगरपालिका–९ स्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्ने कमलदह धार्मिक हरिबोधनी एकादशी मेलामा कुस्ती खेलप्रति दर्शकको आकर्षण बढ्दै गएको छ।
मङ्गलबारदेखि सुरु भएको मेलामा नेपाल र भारतका विभिन्न स्थानका पहलवानहरूले कुस्ती खेल प्रदर्शन गरेका छन्।
मेला समितिका अध्यक्ष रामअधार यादवका अनुसार मेलालाई विशेष बनाउन नेपाल र भारतका प्रसिद्ध पहलवानहरूका बीचमा कुस्ती खेल, मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ।
तीन दिनसम्म चल्ने यस मेलामा सिरहा, सप्तरी, धनुषा र भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन तथा कुस्तीप्रेमीहरू भेला हुने गर्छन्। मेला व्यवस्थापन र शान्ति सुरक्षाका लागि स्थानीय स्वयंसेवक र सुरक्षा निकाय परिचालित गरिएको छ।
कमलदह धार्मिक स्थलले पौराणिक महत्व बोकेको छ, जहाँ स्नान तथा पूजापाठ गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। हरेक वर्ष मेला लाग्दा यसले कमलदहको संरक्षण, सम्बर्द्धन र पर्यटन प्रवर्द्धनमा योगदान दिने अपेक्षा गरिएको छ।
मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादवले कुस्ती खेललाई यहाँका बासिन्दाले उत्सवकै रूपमा मनाउने भएकाले नगरले यसको संरक्षण र प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस