Techie IT

'पुष्पा २' नेपालमा अहिले सम्मकै महँगो मूल्यमा भित्रियो

फिल्मले लगानी उठाउन नेपालमा कम्तिमा १९ करोड रुपैयाँ ग्रस कलेक्सन गर्नु पर्नेछ। यो रकम नेपाली फिल्म ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ ले हालै कमाएको ग्रस कलेक्सन बराबर हो ।


काठमाडौं – नेपाली फिल्म बजारमा बहुप्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’ उच्च मूल्यमा भित्रिने पक्का भएको छ। यो फिल्म नेपालमा अहिले सम्मकै महँगो मूल्यमा भित्रिन लागेको हो ।

नेपालका तीन ठूला वितरण कम्पनीहरू ए-एट्, डीसीएन, र आरआर फिल्म्सले संयुक्त रूपमा ‘पुष्पा २’ को वितरण अधिकार न्यूनतम ६ करोड ४० लाख रुपैयाँमा (४ करोड भारु) खरिद गरेका छन्।

फिल्मलाई वितरण गर्ने तयारी तीव्र रूपमा अघि बढिरहेको छ। प्रमुख सिनेमा हल श्रृंखला क्यूएफएक्सले आफ्नो वेबसाइटमा ‘कमिङ सुन’ पोस्टर प्रकाशित गरी फिल्मको आगमनको संकेत दिएको छ।  ‘पुष्पा २’ आगामी मंसिर २० गते विहिबार (डिसेम्बर ५, २०२४) मा विश्वभर एकै साथ रिलिज हुँदैछ। नेपालमा यसको वितरण अधिकार लिएका कम्पनीहरूले फिल्मलाई व्यापक रूपमा प्रदर्शन गर्न तयारी गरिरहेका छन्।

डीसीएनका प्रमुख अशोक शर्माका अनुसार फिल्मको वितरणमा जोखिम मोलेरै काम भएको छ। उनले भने, “नो रिस्क, नो गेन। हामी तीन कम्पनीले संयुक्त रूपमा जोखिम उठाएर ‘पुष्पा २’ नेपालमा ल्याउने निर्णय गरेका छौं।” फिल्मले लगानी उठाउन नेपालमा कम्तिमा १९ करोड रुपैयाँ ग्रस कलेक्सन गर्नु पर्नेछ। यो रकम नेपाली फिल्म ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ ले हालै कमाएको ग्रस कलेक्सन बराबर हो ।

फिल्मको सफलताका लागि अत्याधिक शो उपलब्ध हुनु आवश्यक हुनेछ, जसले गर्दा यो महँगो लगानी उठाउन मद्दत पुग्नेछ। ‘पुष्पा २’ ले नेपालमा व्यापक दर्शक तान्न सफल भएमा मात्र यस्तो लक्ष्य हासिल गर्न सम्भव देखिन्छ। 

‘पुष्पा २’ ले विश्वभरमा पनि निकै ठूलो चर्चा र अपेक्षा पाएको छ। फिल्मको लोकप्रियता यति उच्च रहेको छ कि अमेरिकी ओटीटी प्लाटफर्म नेटफ्लिक्सले यसको ओटीटी राइट्स २७५ करोड भारुमा खरिद गरेको छ।  फिल्मले रिलिज अघि नै विभिन्न राइट्स विक्रीबापत एक हजार करोड भारु भन्दा धेरैको कमाई गरिसकेको छ।

फिल्मको समीक्षाहरू सकारात्मक आएमा यो लक्ष्य पूरा गर्न कठिन नहुने आँकलन गरिएको छ। ‘पुष्पा २’ को चर्चा यति चुलिएको छ कि यो फिल्मको प्रदर्शनलाई लिएर दर्शकहरूको अपेक्षा उच्च छ, जसले गर्दा नेपालको प्रदर्शन पनि निकै सफल हुने अपेक्षा गरिएको छ।

‘सलार’ पछि महँगो मूल्यमा आउने अर्को फिल्म

यसअघि, प्रभास स्टारर फिल्म ‘सलार’ ले पनि नेपालमा उच्च मूल्यमा भित्रिने घोषणा गरेको थियो, जसलाई एप्पल इन्टरटेनमेन्टले २ करोड ७५ लाख भारुमा खरिद गरेको थियो। तर, ‘पुष्पा २’ ले त्यो मूल्यलाई पार गर्दै नेपाली बजारमा सबैभन्दा महँगो मूल्यमा भित्रिने फिल्मको रूपमा कीर्तिमान कायम गरेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट