शालिग्राम सङ्ग्रहालयमा पाँच लाख शालिग्राम जुटाउने अभियान तीव्र
बागलुङ, गलकोट, ४ कात्तिक – बागलुङको कुडुलेस्थित श्रीधराचार्य शालिग्राम सङ्ग्रहालयले पाँच लाख शालिग्राम सङ्कलनको लक्ष्य राख्दै शालिग्राम संरक्षण अभियानलाई तीव्र बनाएको छ। हालसम्म १.२५ लाख शालिग्राम सङ्कलन भइसकेको छ, जसलाई अब पाँच लाख पुर्याउने योजना रहेको सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले बताए।
कालीगण्डकी नदीमा पाइने शालिग्राम शिला हिन्दू धर्मावलम्बीका लागि पूजनीय मानिन्छ। शालिग्राम संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्दै सङ्ग्रहालयमा आउने पर्यटकको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ।
भूमिगत सङ्ग्रहालयमा सजायर राखिएका शाखग्राम शिला दर्शन गर्न आउने नेपाली तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि शालिग्रामको सङ्ख्यालाई थप गर्ने योजना श्रीधराचार्य शालिग्राम सङ्ग्रहालयले लिएको छ ।
श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले लोप हुन थालेको शालग्रामको महत्व बढ्दै जानु, सङ्ग्रहालय अवलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएकाले सङ्ख्या थपेर पाँच लाख पु¥याउने उद्देश्य अनुसार शालिग्राम जुटाउन थालिएको बताउनुभयो ।
“कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण र पुज्य छ । कालीगण्डकीको दोहन र शालिग्रामको चोरी बढेकाले पछिल्लो पुस्तालाई शालग्राम देख्नै नपाएने अवस्था नआउला भन्न सकिँदैन”, अध्यक्ष प्रपन्नचार्यले भन्नुभयो, “शालग्रामको संरक्षणसँगै धार्मिक पर्यटक भित्र्याउने हाम्रो लक्ष्य थियो, २४ हजार शालिग्राम सङ्कलन गरी थालिएको अभियानलाई सवा लाखमा पुर्याएको थियो ।”
अहिले सङ्ग्रहालयको पूर्वतर्फ शालिग्राम राख्न पूर्वाधार तयार गरी दोस्रो चरण अन्तर्गत करिब तीन लाख शालग्राम पुर्याउने उद्देश्यले सङ्कलनमा जुटेको प्रपन्नचार्यले जानकारी दिनुभयो । “केही वर्षभित्र शालिग्रामको सङ्ख्या बढाएर पाँच लाख पुर्याउने योजना छ, एकै पटक पाँच लाख शालिग्राम सङ्ग्रह गरिएको स्थान विश्वमा चर्चित बन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।
प्रपन्नचार्यका अनुसार शालिग्राम संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण एकसाथ अघि बढिरहेकोे छ । लोपन्मुख मानिएको शालग्राम शिलाको सङ्ग्रह गरी बनाइएको सङ्ग्रहालयमा पर्यटकको आकर्षण बढ्न थालेपछि शालिग्राम संरक्षण अभियानले तीव्रता पाएको उहाँले उल्लेख गर्नुभयो । धार्मिक महत्व जगाउन, कालीगण्डकी सभ्यता जोगाउन र शालिग्रामको संरक्षण गर्न अभियान थालिएको भन्दै वर्षौँ देखिको योजनाले क्रमशः सफलता पाउँदै गएको उहाँले बताउनुभयो ।
विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचार प्रसारका कारण बागलुङ–४ कुडुले स्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटक आउने क्रम बढ्दै गएको छ । दसैँ र तिहार जस्ता चाडपर्वको समयमा धेरै धार्मिक पर्यटक आउने गरेका बताउँदै अध्यक्ष प्रपन्नचार्यले चार वर्षदेखि सर्वसाधरण लाई खुल्ला गरिएको भूमिगत सङ्ग्रहालयले शालिग्रामको संरक्षण गर्न थालेपछि भारतीय पर्यटकसमेत आकर्षित हुन थालेका जानकारी दिनुभयो ।
मुस्ताङको मुक्तिनाथबाट म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षण गर्न बागलुङ–४ कुडुलेस्थित तिरुपति बालाजीधाममा श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय निर्माण भएपछि शालिग्राम दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो । शालिग्राम संरक्षणसँगै यसको सङ्ख्या बढाउन सङ्कलन अभियान थालिएको अध्यक्ष प्रपन्नचार्यले उल्लेख गर्नुभयो ।
हिन्दू धर्मावलम्बीका लागि कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) शालिग्राम अति पूजनीय मानिन्छ । वैष्णवहरू र सनातनी हरुले पनि शालिग्रामलाई साक्षात् विष्णुको अवतारका रुपमा लिने गरेकाले यसको महत्व धेरै रहेको अध्यक्ष प्रपन्नचार्यले जानकारी दिनुभयो ।
सङ्ग्रहालय अवलोनका लागि विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धार्मिक पर्यटक उल्लेख्य मात्रमा यहाँ आउने गरेका छन् । अहिले दैनिक तीन सयको हाराहारीमा पर्यटक शालिग्राम दर्शनका लागि आउने गरेका अध्यक्ष प्रपन्नचार्यले जानकारी दिनुभयो ।
शालिग्रामको महिमा बढाउन सङ्ग्रहालयले शालिग्राम महोत्सव, शालिग्राम सम्बन्धी प्रवचन गरिरहेको बताउँदै शालिग्राम दर्शनपछि पुण्य कमाउने विश्वासका साथ यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीय राम प्रसाद शर्माले उल्लेख गर्नुभयो । शालिग्राम थप गरेर पाँच लाख पुर्याउने अभियानले स्थानीयमा उत्साह छाएको उहाँको भनाइ छ ।
भगवान् शिवको प्रिय अस्त्रका रुपमा मानिने शालिग्राम सङ्ग्रहालय त्रिशूल आकारमा भू–गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थित गरिएको छ । यहाँ सङ्ग्रहालय, त्रिवेणीधाम बाट दामोदर कुण्डसम्मको नक्सा, विभिन्न धार्मिक महत्वका मठमन्दिर, वृतचित्र, प्रदर्शनी कक्ष लगायत संरचना निर्माण गरिएका छन् । सङ्ग्रहालयमा स–साना तथा तीन सय किलोसम्मका शालिग्राम संरक्षण गरी राखिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस