हनुमान ढोकाको दशैँ घरमा फूलपाती भित्र्याइयो । (फोटोहरु सहित)
काठमाडौँ, २४ असोज,
आश्विन शुक्ल सप्तमीका दिन आज राज्यका तर्फबाट नव दुर्गाको पूजा आराधना हुने हनुमान ढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ।
गोरखाबाट धादिङको जीवनपुर सम्म दसैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौँको जमल सम्म काठमाडौं बाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहेको हनुमान ढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो।
जमल बाट हनुमान ढोका सम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्ड बाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको थियो । यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट गएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उहाँले बताउनुभयो। हनुमान ढोका दरबारको नासलचोकमा पूजा र मूल चोकमा बलिसहित पूजा गरेपछि दसैँ घरमा फूलपाती भित्र्याइएको हो ।
राजतन्त्र कालमा रहुञ्जेल सम्म हनुमान ढोका दरबारको दसैँ घरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उपस्थित हुने गरेको हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
यस वर्ष पनि संस्कृति मन्त्री बद्री प्रसाद पाण्डे फूलपाती भित्र्याउने कार्यक्रममा सहभागी हुनुभएको थियो ।
गोरखा दरबारमा परम्परागत फूलपाती भित्र्याइयो
२६ वर्षपछि पुरानो परम्परा जाजरकोटमा पुनः स्थापित
रासस
तपाईको प्रतिक्रिया दिनुहोस