Techie IT
२०८१ चैत्र २१, बिहीबार

बागमतीमा खपत नभएका माछाका भुरा मधेस र भारत पठाइँदै


हेटौँडा । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडामा उत्पादित माछाका भुरा बागमती प्रदेशको विभिन्न जिल्लाका पर्याप्त भएर मधेस प्रदेश र भारतसम्म पठाउने गरिएको छ । केन्द्रका प्रमुख सरोजकुमार यादवका अनुसार खपत भएर बाँकी रहेको भुरा मधेस प्रदेश र भारतमा बिक्री गर्ने गरिएको हो ।

प्रमुख यादवका अनुसार केन्द्रमा दुई करोड ह्याचलिङ, १० लाख फ्राई, लाख फिङ्गर आकारको माछाको भुरा एक वर्षमा उत्पादन हुने गरेका छन् । जसमध्ये करिब ५२ लाख भुरा बागमती प्रदेशमा खपत हुँदैनन् । ती बढी हुने माछाका भुरा मधेस प्रदेश र भारततर्फ पठाउने गरेको जानकारी दिए । केन्द्रमा हाल कमनकार्पको भुरा उत्पादन गरिरहेको र अब एक महिनापछि ग्रास, रहु, नैनी, बिगहेड र सिल्भर कार्प उत्पादन गरिने उनले जानकारी दिएका छन् ।

नेपालको नदी ताल, तलैयाका लागि भने केन्द्रले सहर र गर्दी माछाको भुरा उत्पादन गरेर खोलामा तथा प्राकृतिक जलाशयमा छाड्ने गरेको छ । प्रमुख यादवले भने, “हामी खोला नालामा अध्ययन अनुसन्धान गर्दैछौँ, अनुसन्धानकै आधारमा सहर र गर्दी माछा उल्पादन गरेका हौँ ।” केन्द्रको ४३ वटा पोखरीमा कमल, मखना, सिंगडा रोपेर पोखरीको बहुउपयोगसँगै राजस्व वृद्धि गर्ने योजना छ । गत आर्थिक वर्षमा एक लाखको बाख्रापालन गरेकामा यस आर्थिक वर्षमा केराखेतीसमेत गर्न लागिएको प्रमुख यादवको भनाइ छ । 

बागमती प्रदेशमा खपत भएर बाँकी रहेका माछाको भुरालाई मधेस प्रदेश पठाउने र त्यसमा पनि बाँकी बसेपछि भारततर्फ पठाउने गरिएको उनका भनाइ छ । चारदेखि पाँच हजार मेट्रिकटन भारतबाट आयात भए पनि १५ देखि २० हजार मेट्रिकटन माछा भारत नै जाने गरेको उनका दाबी छ । यद्यपि भन्सार भएर र मूल्य तोकिएर पठाउन नसकिएका कारण स्पष्ट तथ्याङ्क नभेटिने उनले बताए ।

काकबेन बाँधेर माछा राखेको तीन दिनमा भुरा उत्पादन हुने र नौँ दिनमा बेचिसकिने प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रका कर्मचारी घनश्यामसिं ठकुरीले बताए । उहाँहरू यतिबेला माछाको भुरा उत्पादनको लागि खटिरहनुभएको छ ।

मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख सरोजकुमार यादवले स्थानीय सरकार नै संरक्षण र प्रवर्द्धनको सम्वाहक रहेको बताए । उनले आफ्नो कार्यालयमा जनशक्तिको अभाव र ७७ वटै जिल्लामा कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको बताउँदै कार्यान्वयनमा स्थानीय सरकारको सहयोग र भूमिका महत्त्वपूर्ण रहेको बताए ।

कार्यालय प्रमुख यादवले माछालगायत जलचरको संरक्षण र प्रवद्र्धन गर्दै जलमा आश्रित स्थानीय समुदायको समृद्धिका लागि तीनवटै तहका सरकारसँग मिलेर काम गरिनेसमेत बताए । खोला, नाला र प्राकृतिक जलाशयमा छाड्नका लागि केन्द्रमा सहर र गर्दी माछाका भुरा उत्पादन गर्ने गरिएको छ ।     
    
कुलेखानीमा तीन लाखको माछा बिक्री

मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा तीन लाखभन्दा बढीको माछा बिक्री गरेको छ । चालु आव २०८१/८२ मा एक हजार चार सय ३२ किलो माछा उत्पादन गरेर बिक्रीबापत रु तीन लाख ३८ हजार दुई सय २१ राजस्व सङ्कलन गरेको हो ।

गत आवमा दुई हजार पाँच सय १८ किलो माछा उत्पादन गरेको केन्द्रले चालु आवमा उत्पादन गरेको माछा लक्ष्य नजिक रहेको मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुर निमित्त प्रमुख मत्स्यविकास अधिकृत मनिता पौडेलले जानकारी दिए । उनका अनुसार माछा उत्पादन चालु आवमा गत आवकोभन्दा कम लक्ष्य राखिएको छ ।

पौडेलका अनुसार केन्द्रले चालु आर्थिक वर्षको साउन महिनामा केज र तियारीबाट एक सय ८० किलो माछा उत्पादन गरी बिक्री गर्दा रु चार हजार चार सय ३७ राजस्व सङ्कलन गरेको छ । भदौ महिनामा ३० हजार दुई सय ३८ असोजमा २९ हजार तीन सय ३६, कात्तिक महिनामा एक लाख छ हजार चार सय १६, मङ्सिर महिनामा छ हजार छ सय एक र पुस महिनामा केन्द्रले चालु आवको हालसम्मकै बढी एक लाख १७ हजार तीन सय राजस्व सङ्कलन गरेको मत्स्य विकास अधिकृत पौडेलले जानकारी दिनुभयो ।     
    
साथै केन्द्रले फागुन अन्तिम सातासम्म तीन हजार रु नौ सय ६० राजस्व सङ्कलन गरेको छ भने माघ महिनामा भने माछा बिक्री नगरिएको कार्यालयले जनाएको छ । केन्द्रले गत आवमा २ हजार पाँच सय १८ किलो माछा बिक्री गरेर छ लाख २७ हजार राजस्व सङ्कलन गरेको थियो ।

मकवानपुरको इन्द्रसरोवर तालमा केन्द्रले उत्पादन गरेको माछा स्थानीयस्तरमा नै खपत हुने गरेको छ । केन्द्रले हाल सिल्भर, बिगहेड, कमन ग्रास, रहु, नैनी, भाकुर, टिलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्दै आएको छ ।

तालको रिजरभ्वायरको जलीय विविधता संरक्षण तथा यसमा आश्रित समुदायको जीवनस्तर उकास्ने हेतुले केन्द्रले विगतका वर्ष झँै गत भदौ महिनाको तेस्रो साता दुई लाख भुरा माछा तालमा छाडेको थियो । साथै केन्द्रले स्थानीय विद्यालयका विद्यार्थी र कर्मचारीलाई नेपालमा माछापालनका लागि योग्य माछाका जातहरू, माछाको पौष्टिक महत्त्व तथा प्राकृतिक जलाशयको संरक्षणको विषयमा जानकारी गराउँदै आएको छ । यहाँ उत्पादन भएको माछा स्थानीयस्तरमै खपत हुनेगरेको छ ।    
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट