केराखेतीबाट वार्षिक आठ लाख आम्दानी
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्ट वि.सं २०७७ देखि व्यावसायिक रूपमा कृषि पेसामा लागेका हुन्। उनले केरा बिक्रीबाट वार्षिक आठ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बताएका छन् ।
उनले भने, “नेपाल प्रहरीमा १७ वर्ष सेवा गरेपछि घर फर्किएँ। अन्य व्यापार व्यवसायमा खासै आम्दानी नभएपछि कृषि पेसा रोजें। डेढ बिघा क्षेत्रफलमा केराखेती सुरु गरेपछि वार्षिक आठ लाखभन्दा बढी आम्दानी हुन्छ, महिनामा ८० देखि ९० घरीसम्म केरा बिक्री हुन्छ।”
उनले उत्पादन भएको केरा चक्रघटी, कालाबन्जर, चतरा लगायतका स्थानीय बजारमा र इटहरी, धरान, गाइघाट सम्म पठाउने गरेका छन् । एक घरी केरा रु ४०० देखि ६०० सम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए।
सुरुमा धान, मकै र कोदोको खेती गर्ने विष्ट पछिल्लो समय केराखेतीतर्फ आकर्षित भएका छन् । अहिले उनले आफ्नो सबै जग्गामा केरा, खर्बुजा, भुइँकटहर, दाल, बोडी, सयपत्री फूल र तोरी लगाएका छन् ।
उनका अनुसार, “कृषिमा सुरुमा केही मिहिनेत गर्नुपर्छ, तर पछि राम्रो आम्दानी हुन्छ। कृषिमा आफैँ मालिक र कर्मचारी बन्न सकिन्छ। घर खर्च चलाउनकै लागि अरूसँग ऋण माग्नुपर्ने अवस्थाबाट पनि छुटकारा मिल्छ।”
उनले मालभोक, चिनियाँ चम्पा र कृष्णभोग गरी तीन प्रजातिका केरा लगाएका छन् ।
सुनसरीमा हाल ५१० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए । उनले भने, “सुनसरीमा केराखेतीको उत्पादन राम्रो छ, तर गत असोजको बाढीले ३८.२५ हेक्टर क्षेत्रफलको केराखेती नष्ट हुँदा करिब ३७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।”
केन्द्रका अनुसार हाल सुनसरीमा झप्री, मालभोक, मुङ्गे, मर्चे, चिनियाँ चम्पा, कृष्णभोग र हाइब्रिड प्रजातिका केरा अत्यधिक मात्रामा उत्पादन हुँदै आएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस