सागसब्जी खेतीबाट रामपुरका युवाको वार्षिक आम्दानी छ लाख
विदेशिने युवाको भीडबीच पनि पाल्पाको रामपुर नगरपालिका वडा नं ५ राङभाङका विवेक गौतमले आफ्नै गाउँमा श्रम गरेर आर्थिक सशक्तिकरणको यात्रा तय गरेका छन्। २४ वर्षीय गौतमले पाँच वर्षअघि सागसब्जी खेतीलाई व्यवसायिक रूपमा सुरु गरी आज वार्षिक रु छ लाख आम्दानी गरिरहेका छन्।
रामपुर क्षेत्रका युवा किसानका रूपमा परिचित गौतमको मेहनत र समर्पणले गाउँका अन्य युवालाई पनि कृषि क्षेत्रमा लाग्न प्रेरित गरिरहेको छ। गौतमले बाल्यकालदेखि नै खेतीमा रुचि राख्दै आफ्ना मातापितालाई खेतबारीमा सहयोग गर्दै आएका थिए।
कृषिक्षेत्रप्रति गहिरो लगाव भएका उनले अन्य युवाजस्तै विदेशमा काम गर्न जानुभन्दा आफ्नै गाउँमा रहेर केही गर्ने अठोट गरे। पाँच वर्षअघि गौतमले ‘गौतम कृषि फर्म’ दर्ता गरी व्यवसायिक रूपमा सागसब्जी खेती सुरु गरे।
उनले आफ्नै तीन रोपनी र भाडामा लिएको थप तीन रोपनी, गरि कुल छ रोपनी क्षेत्रफलमा विभिन्न प्रकारका सागसब्जी उमारिरहेका छन्। अहिले गौतमको खेतबारीमा लटरम्म फलेका काउली, गोलभेँडा लगायतका सागसब्जीले जोकोहीलाई लोभ्याउँछन्। गौतमका अनुसार बेमौसमी खेतीमा विशेष ध्यान दिँदा उत्पादन बढेको र बजारमा प्रतिस्पर्धात्मक दर पाइने गरेको छ।
गौतमले 'टनेल' प्रविधिको प्रयोग गर्दै सागसब्जी खेतीलाई व्यवस्थित गरेका छन्। टनेल प्रविधिमा खेती गर्दा मौसमी प्रभाव कम हुने र उत्पादन दरमा वृद्धि हुने भएकाले आम्दानीमा पनि वृद्धि भइरहेको छ। यसले उनलाई व्यापारिक हिसाबले मात्र नभई स्थानीय बजारलाई पनि उच्च गुणस्तरीय सागसब्जी उपलब्ध गराउन मद्दत गरेको छ। टनेलभित्र उत्पादन राम्रो हुने भएकाले उनको काममा विशेष आत्मविश्वास बढेको छ।
स्थानीय तहको सहयोग र ब्याज अनुदान
गौतमले कृषि व्यवसायमा गरेको लगाव र सफलतालाई हेरिरहेको रामपुर नगरपालिकाले उनलाई थप प्रोत्साहन स्वरूप ब्याज अनुदानसमेत उपलब्ध गराएको छ। नगरपालिकाले ब्याज अनुदान कार्यक्रम मार्फत दुई वर्षसम्मका लागि रु आठ लाखको ब्याज अनुदान दिएको हो। यस सहयोगले गौतमलाई व्यवसाय विस्तार गर्न र थप नवीनता अपनाउन मद्दत पुगेको छ।
गौतमले भने, “सबैको साथ र हौसलाले मलाई थप प्रोत्साहित गरेको छ, जसले गर्दा मैले मेरो व्यवसाय विस्तार गर्दै अघि बढ्न सकिरहेको छु।”
बजारको माग
गौतमले विभिन्न सागसब्जी बेमौसमी समयमा उत्पादन गर्ने भएकाले बजारमा माग उच्च छ। उत्पादन राम्रो हुने र घरमै व्यापारी आउने भएकाले उनलाई बजारको चिन्ता छैन। उनको वार्षिक आम्दानी रु छ लाखसम्म पुग्दा गाउँका अन्य किसानहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। गौतमका अनुसार, ‘‘विदेशी भूमिमा पसिना बगाउनुको साटो आफ्नै माटोमा श्रम गर्दा आर्थिक र आत्मिक दुवै रूपमा फाइदा हुने रहेछ।”
गौतमले भविष्यमा थप क्षेत्रफलमा खेती विस्तार गर्दै सागसब्जीको उत्पादन बढाउने योजना बनाएका छन्। स्थानीय तहको समर्थन, सहकारीको उपलब्धता, र ब्याज अनुदानले युवा किसानहरूलाई आफ्नो क्षेत्रमै बसेर स्वरोजगार सिर्जना गर्ने सम्भावनालाई बल दिएको छ।
गौतमले कृषिक्षेत्रमा मेहनत र नवीनतालाई प्राथमिकता दिएर अन्य युवालाई पनि गाउँमै रोजगार सिर्जना गर्ने र आत्मनिर्भर बन्ने दिशामा उन्मुख गराइरहेका छन्। यसले गर्दा गाउँको कृषिक्षेत्रमा नयाँ उचाइ कायम हुने विश्वास गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस