विदेशको पीडा भुल्दै, भुसालको सागसब्जी खेतीले ल्यायो चार लाखको आम्दानी
रामपुर नगरपालिका-९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गर्दै आफैंको देशमा श्रम गर्न प्रेरित गरिरहेका छन् । दुई दशक विदेशमा मजदुरी गरेका भुसालले रामपुर-७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जी खेतीको यात्रा प्रारम्भ गरेका हुन् ।
उनले भने, "लामो समयसम्म अर्काको देशमा पसिना बगाए, गाउँ फर्केलगत्तै जग्गा भाडामा लिएर सागसब्जीखेती सुरु गरेको छु। अहिले सागसब्जी रोप्ने र रेखदेखमा व्यस्त छु।" उनले वार्षिक रु ४० हजारमा तीन वर्षका लागि जग्गा भाडामा लिएका छन्।
भुसालले बेमौसमी सागसब्जी उत्पादनमा जोड दिँदै काउली, ब्रोकाउली, बन्दा, धनियाँ र मुला जस्ता सागसब्जी रोप्नुभएको छ। व्यवसाय सुरु गरेको पहिलो वर्षमै उनले रु चार लाख आम्दानी गरेका छन् र वार्षिक रूपमा रु सात लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन् ।
उमले विदेशको अनुभव सुनाउँदै भने, "अर्काको देशमा धेरै दुःख छ। दिनमा कम्तीमा १२ देखि १५ घण्टाको काम गर्नुपर्छ, तर काम अनुसारको पारिश्रमिक पाइँदैन। आफ्नै देशमा आनन्दले परिवारका साथ काम गर्न पाइन्छ, यसमै आनन्द छ।"
उद्यमी भुसाललाई आफ्ना उत्पादन बिक्रीको कुनै चिन्ता छैन। उनका उत्पादन गरिएका सागसब्जी रामपुर बजारमा बिक्री भइरहेका छन्, र व्यापारीहरू घरमै आएर खरिद गर्न आएका छन्। भुसालले सागसब्जीको साथसाथै फलफूलका बिरुवाहरू पनि उत्पादन गरेर बिक्री गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस