सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । रूपन्देही र मकवानपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
रूपन्देहीको सैनामैना नगरपालिका-८ बासगढीस्थित सडकमा लु.१ ख ७१८२ नम्बरको बसको ठक्करबाट साइकलयात्री ७० वर्षीय भिम बहादुर ज्ञवालीको आइतबार दिउँसो मृत्यु भएको हो । गम्भीर घाइते भएका भिम बहादुरलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको जानकारी प्राप्त भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ, र दुर्घटनाको बारेमा अनुसन्धान जारी छ ।
त्यस्तै, मकवानपुरको मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकमा ना.८ ख १८०९ नम्बरको बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका-२ संगमटोल बस्ने ५८ वर्षीय जित बहादुर प्रधानको मृत्यु भएको छ । गत राति भएको यस दुर्घटनामा गम्भीर घाइते भएका जित बहादुरलाई हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो, जहाँ उनको मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र दुर्घटनाका कारणहरूको अनुसन्धान भइरहेको छ ।
प्रहरीले दुबै घटनामा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस